‘डन्डीफोर आउँदा खुसी लाग्यो’: एकनारायण भण्डारी

निश्चय नै किशोरावस्थाको स्मरणले मलाई अहिले पनि रोमाञ्चित बनाउँछ । हुनतः औसत किशोरझैं काम, पढाइ र खेलको त्रिवेणीमा बग्दै जिन्दगीको उक्त कालखण्ड बिताइयो । घरको काम सकेर स्कुल जान्थेँ । स्कुलबाट फर्केर घरको काम । बँचेको समयमा अनेक स्थानीय खेल खेलियो । यो अर्थमा म त्यो बेला पूर्णकालीन विद्यार्थी हुन सकिनँ । हाम्रो ग्रामीण परिवेशमा हुर्केका हरेक किशोरको साझा समस्या थियो यो ।

स्कुल जाँदा घरबाटै काँचो आँपको अचार र गहुँको रोटी लगिन्थ्यो, स्कुलमै खाइन्थ्यो । फर्कंदा ऐंसेलुका झ्याङ चहार्दै हिँडिन्थ्यो । गाउँलेका बारीमा फलेका काँक्रा नचोरी चित्तै बुझ्दैनथ्यो

निम्नमध्यमवर्गीय परिवारमा हुर्किएको हुनाले घाँस, दाउरा, मेलापर्म गर्नैपथ्र्यो । मलाई स्मरण छ कि, १५÷१६ वर्षकै उमेरमा मैले आफ्नो घरको छानो आफैंले हालेको थिएँ । क्रमशः उमेरसँगै रहर पनि बढे । गाउँमै खुम्चिएर बस्न मन लाग्न छाड्यो । बा–आमा मलाई धेरै पढाउन चाहनुहुन्थ्यो । तर परिस्थिति कठिन थियो । मलाईचाहिँ पढ्न मन नलाग्ने हुँदै गयो ।

यद्यपि, स्कुल पढ्दाका केही अनुभूति रोचक छन् । गर्मीयाममा बिहान स्कुल लाग्थ्यो । स्कुल जाँदा घरबाटै काँचो आँपको अचार र गहुँको रोटी लगिन्थ्यो, स्कुलमै खाइन्थ्यो । फर्कंदा ऐंसेलुका झ्याङ चहार्दै हिँडिन्थ्यो । गाउँलेका बारीमा फलेका काँक्रा नचोरी चित्तै बुझ्दैनथ्यो । काँक्रो चोरेर भाग्दा थुप्रै जोर चप्पल चँुडिए । कहिलेकाहीँ स्कुलबाट भागेर सिम्ले खोलामा पौडी खेल्न गइन्थ्यो । त्यो दिन सम्झदा निकै रोचक लाग्छ अहिले । गाउँमा पानीको अभाव थियो । स्कुल गएका बेला तिर्खा लाग्यो भने धारामा गएर आधा घण्टा जति नै लाइन बस्नुपथ्र्यो । त्योबेला पानी पिउन गरेको संघर्ष सम्झँदा अहिले पनि मन कटक्क खान्छ ।

सानो, सुरिलो बाँस देख्यो कि काटिहाल्न मन लाग्ने । छाताको टुप्पोले बाँसमा प्वाल पारेर, भक्को चप्पल वा गुदरगानोले प्वाँल टालेर बाँसुरी बनाउथे

लेखनसँगै गीतसंगीतमा रुचि- त्यतिबेला हरेक शुक्रबार स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । विभिन्न कार्यक्रम हुन्थे । जसमा म सहभागी हुन्थेँ । निबन्ध तथा कविता लेखन प्रतियोगितामा प्रतिस्पर्धा गर्थें । प्रतिस्पर्धाले मान्छेलाई तिखार्दो रहेछ । क्रमशः राम्रा गीत कविता लेख्न थालेँ ।

लेखनसँगै संगीतमा पनि रुचि थियो । त्यो बेला मैले सयवटाभन्दा बढी त बाँसुरी नै बनाएर बजाएँ हुँला । सानो, सुरिलो बाँस देख्यो कि काटिहाल्न मन लाग्ने । छाताको टुप्पोले बाँसमा प्वाल पारेर, भक्को चप्पल वा गुदरगानोले प्वाँल टालेर बाँसुरी बनाउथे । तर, आफैंले बनाएको बाँसुरी राम्रोसँग बजाउन पाउँदैनथेँ । बाँसुरी देख्यो कि आमाले फुटाइदिनुहुन्थ्यो, छोराले पढाई बिगार्यो भनेर । सँगसँगै गीत पनि गाउन थालेँ । आमालाई मैले गीत गाएको मन पर्दैनथ्यो । किनकि, उहाँ छोराले धेरै पढोस् भन्ने मात्रै चाहनुहुन्थ्यो । गीत गाउने मामलामा आमा र मेरो लुकामारी नै चल्थ्यो ।

बिस्तारै रेडियो सुन्नमा रस बस्यो । त्यतिबेला घरमा एउटा सानो रेडियो थियो । बाले समाचार सुन्न ल्याउनु भएको रेडियो बगलीमै बोकेर हिँड्थें, गीत सुन्न । रुखमा चढेर ब्याट्रीले धानुन्जेल गीत सुन्थेँ । तर, बालाई भने समाचार सुन्न रेडियो बोकेको भनेर ढाँट्थेँ ।

‘कसैले तेरो छोराले के गर्छ भनेर सोध्दा तास खेल्छ भनौं कि पढ्छ भनौं ? केटा !’ म एकछिन चुप बसेँ । बाले फेरि सोध्नुभो, ‘तास खेल्छस् भने तासै किन्दिन्छु, पढ्न पाउँदैनस्, पढ्छस् भने जे नि गर्दिन्छु, तास खेल्न छाड् ।’ मैले निकै विचार गरेर जवाफ दिएँ, ‘पढ्छु, तर सहर गएर ।’

लुकी–लुकी तास खेल्दा– आठ कक्षा पढ्दाताकाको कुरा हो । साथीसंगतले तास खेल्न सिकें । छिटै नै तासको लत लागिहालेछ । बाआमासँग लुकेर जुनेली रातमा रातभर नै बारीको कान्लामुनि बसेर तास खेलेको स्मरण ताजै छ । एकदिन बाले त्यसरी तास खेलेको थाहा पाउनुभएछ । म खुब डराएँ, बाले बेस्मारी पिट्नुहुन्छ भनेर । तर उहाँले पिट्नु भएन । शान्त भएर सोध्नुभो, ‘कसैले तेरो छोराले के गर्छ भनेर सोध्दा तास खेल्छ भनौं कि पढ्छ भनौं ? केटा !’ म एकछिन चुप बसेँ । बाले फेरि सोध्नुभो, ‘तास खेल्छस् भने तासै किन्दिन्छु, पढ्न पाउँदैनस्, पढ्छस् भने जे नि गर्दिन्छु, तास खेल्न छाड् ।’ मैले निकै विचार गरेर जवाफ दिएँ, ‘पढ्छु, तर सहर गएर ।’

त्यसको भोलिपल्टै बाले वालिङस्थित मामाघरमा राखेर पढाउन थाल्नुभो । मामाघरमा काम गर्न पर्दैनथ्यो । स्कुल पनि नजिकै थियो । त्यहाँ गएर तास चाहिँ खेलिनँ, तर स्कुलका अतिरिक्त क्रियाकलापमा भने सहभागी भइरहेँ । जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी भएर विजयी भएँ । भित्तेपत्रिकामा विभिन्न रचना प्रकाशन गर्न थालेँ । यसरी तासले मलाई बजार ल्यायो । बजारले धेरै कुरा सिकायो । बुबाको बुद्धिमानीप्रति म अहिले पनि नतमस्तक छु ।

पहिलो गीत रेकर्ड– एकदिन घरभन्दा अलिमाथिको जंगलस्थित चौतारोमा बसेर होमवर्क गर्दै थिएँ । म होमवर्क गर्न र विभिन्न रचना गर्न त्यहीं जान्थेँ । मैले विवाह गरेर चेलीलाई माइतबाट घर ल्याउँदै गरेको देखेँ । त्यो दृश्यले मन छोयो । अनि त्यतिबेलै लेखें, ‘देउरालीमा हावा’ बोलको गीत । जुन गीत पछि रेकर्ड भयो । मैले लेखेको पहिलो रेकर्डेड गीत पनि त्यही हो । किशोरावस्थामा नै मैले सिर्जनाको पाइला अघि बढाएको थिएँ ।

मन परेकी केटीसँग छुट्दा रोइयो– किशोरावस्थामा धेरै साथी बने, छुटे । केटी साथी पनि बनाइयो । मन परेकी केटीसँग छुटिँदा रुँदै पनि हिँडेको छु । तर, मैले उनलाई मन पराउँछु भन्नै सकिनँ । किनकि, आमाले ‘रक्सी खाने र लभ गर्ने काम नगर’ भन्नु भएको थियो । बा–आमाको इज्जतको ख्याल गरेरै प्रस्ताव राखिनँ । तर पनि उनीसित छुटिँदा खुब पिर पर्यो ।

म अलि बढी नै लजालु स्वभावको थिएँ । जुँगाको रेखी बस्दा रुमालले मुख छोपेर हिँडे मान्छेहरूले खिसी गर्छन् भनेर । पछि जुँगा काटेँ, झन् लाज लाग्यो । तर डन्डीफोर आउँदा चाहिँ खुसी लाग्यो । ममा पनि बैंश आयो भनेर । अहिले सम्झँदा पो रमाइलो लाग्छ । किशोरावस्थामा नै धेरै कुरा पाएँ, धेरै कुरा छुटे । तर गीतसंगीतप्रतिको प्रेम भने झन् बढ्दै गयो । र, अहिले यो ठाउँमा छु ।

याे साहित्य हामिले सामप्ताहिकबाट साभार गरेका हाैँ । यसका लेखक राधिका अधिकारी हुन् ।

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया